प्राधिकरणको स्थानीय तहलाई परिपत्र 

२०७४ असार ८ बिहीबार ०९:००:०० मा प्रकाशित

काठमाडौँ, ८ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालन गरी पुनःनिर्माण र पुनःलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको छ । प्राधिकरणले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई हिजो परिपत्र गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारीस्तरमा भएको निर्णयअनुसार निर्वाचन सम्पन्न भइसकेका भूकम्प प्रभावित जिल्लाका गाँउपालिका तथा नगरपालिका र निर्वाचन हुन बाँकी जिल्ला समन्वय समितिलाई यस्तो परिपत्र भएको हो ।

विसं २०७३ पुस मसान्तसम्म आवास अनुदानबापतको पहिलो किस्ता लिएका भूकम्प प्रभावित लाभग्राहीले घरको जग राख्न बाँकी भए असार मसान्तभित्र राखीरप्लिन्थ तहसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्ता दाबी गरिसक्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको प्राधिकरणका सह–प्रवक्ता डा भीष्मकुमार भुसालले  जानकारी दिए । “सबै वडा पदाधिकारीलाई परिचालन गरेर पुनःनिर्माण र पुनःलाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्प प्रभावित १७ जिल्लामा लाभग्राहीसँग अनुदान सम्झौता अविलम्ब सम्पन्न गरेर असार मसान्तसम्म पहिलो किस्ताको रकम वितरण गर्न अनुरोध गरिन्छ”– परिपत्रमा उल्लेख गरिएको छ।

प्राधिकरणबाट गुनासो सुनुवाइमार्फत् लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरी गाउँपालिका, नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउन भनिएको छ । समितिले यसअगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम पाइसकेका लाभग्राहीलाई दोस्रो तथा तेस्रो किस्ताका लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइबाट सिफारिस भई आएमा भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरेको सहप्रवक्ता भुसालले बताए । रासस

ताजा खबर