कांग्रेस उपसभापतिको मतगणना : खड्का र गुरुङको अग्रता

२०७८ मङ्सिर २९ बुधबार २१:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि सुरु भएको हो । राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, डा चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गरेका पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

मतगणना तीन स्थानमा गरिएको छ । सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए ।

जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

ताजा खबर