मुलुकको शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब घाटामा

२०७८ मङ्सिर २९ बुधबार २०:५१:०० मा प्रकाशित

काठमाडौं । नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आर्थिक वर्षमा घाटामा पुगेको छ । मुलुकमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो ।

त्यस्तै सार्वजनिक विवरणानुसार देशको चालू खाता आवको पहिलो चार महिनामा रुदुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको देखिन्छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा चालू खाता १९ अर्ब एक करोडले बचतमा थियो ।

तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आवको सुरुआतमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ ।

व्यापार घाटा पाँच खर्ब ६८ अर्ब

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार पहिलो चार महिनामा मुलुकको वस्तु व्यापार घाटा ५६ दशमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

सो अवधिमा वस्तु निर्यात १०४ दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ र आयात ६१ दशमलव ६ प्रतिशतले बृद्धि भई छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका समानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत बढेका छन् ।

देशको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने विप्रेषण आप्रवाह (रेमिट्यान्स)समेत घटेको देखिन्छ । चालू आवको पहिलो चार महिनामा सात दशमलव पाँच प्रतिशतले रेमिट्यान्स घटेर कूल  तीन खर्ब १२ अर्ब ४२ करोड भित्रिएको छ । त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार आवको पहिलो चार महिनामा सङ्घीय सरकारको खर्च दुई खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन तीन खर्ब ३४ अर्ब ३१ करोड छ ।

ताजा खबर