प्रचण्ड र माधव नेपालकै कारण मुलुक अस्थिरताको बाटोमाः अध्यक्ष ओली

२०७८ मङ्सिर २९ बुधबार १४:१२:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको आरोप लगाएका हुन् ।

उनले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए । उनले प्रचण्ड र नेपालको कनेक्सन कहाँ छ भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको दाबी गरे ।

उनले भने,‘ स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापटि जाने स्थिति पनि देखिदैन । किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन् । अहिले ती शक्तिहरुमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन् । यसमा कुनै भ्रम राख्नु पर्दैन ।’

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्यो अभिव्यक्ति दिएको आरोप लगाए । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न निर्देशन दिए ।

ताजा खबर