अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

२०७८ मङ्सिर २९ बुधबार १३:२०:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । मङ्गलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको विश्वविद्यालयले जानकारी दिएको हो । यसरी अमेरिका यो सङ्क्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ ।

विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पनि जनाइएको छ । त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजार भन्दा बढीको ज्यान गएको छ ।

त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ । यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ ।त्यसैगरी न्युयोर्कमा भने ५८ हजार जना भन्दा बढीको ज्यान गएको जनाइएको छ । विश्वमा यस सङ्क्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ । त्यसैगरी विश्वका सङ्क्रमितहरुको १८ प्रतिशत यहाँ सङ्क्रमित रहेका पनि बताइएको छ ।

त्यस्तै हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको जनाइएको छ । अमेरिकामा गएको करिब दुई महिनायता कोभिड सङ्क्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक सङ्क्रमितको संख्या बढ्न थालेको देखिन्छ । अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा सङ्क्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुले अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन् ।

नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड सङ्क्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ । अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी रहेको छ । यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमितहरु थपिँदै गएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन् ।

 

ताजा खबर