कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२०७८ मङ्सिर २९ बुधबार ०२:०२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित भएका हुन् । देउवाले २७३३ मत पाएका छन् भने शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । ३५ मत बदर भएको छ ।

  २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि देउवा दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए । सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ । दोस्रो चरणको मतदानमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए । तीन जनाको समर्थनपछि देउवालाई जित्न सहज भएको थियो ।

ताजा खबर