पाहुनाको पर्खाइमा डाँडागाउँ हर्कपुर होमस्टे

२०७८ मङ्सिर २८ मंगलबार १९:०७:०० मा प्रकाशित

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित डाँडागाउँ हर्कपुर (घरबास) होमस्टे सञ्चालनमा छन् । समुद्री सतहदेखि करिब ९०० मिटर उचाईमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दिपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिरपनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् ।

पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगाानीमा सो टावर निर्माण गरिएको थियो । भ्यु टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्नका लागि म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष बिहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ ।

त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन सुरु गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । विसं २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथामिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरुले चाख्न पाउँछन् । स्थानीयवासीले आफ्नै भेषभुषामा सजिएर डम्फु बजाउँदै पाहुनाको स्वागतमा जुट्छन् ।

होमस्टेमा एक पटकमा तीस जना पाहुनालाई राख्न सकिने बताइएको छ । होमस्टेबाट आएको मुनाफाले सामाजिक कार्यमा खर्च गर्ने गरिएको उनले बताए । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुङ्गी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ ।

होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाको लागि प्याकेजमा रु एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहोराएर जाने गरेको बताइएको छ ।

ताजा खबर