कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु

२०७८ मङ्सिर २८ मंगलबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो ।

पहिलो चरणमा भएको मतदानमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच अब प्रतिस्पर्धा हुने छ । सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मत खसालेसँगै मतदान सुरु भएको हो । सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मतदान गरेका छन् ।

मतदान आज साँझ साढे ७ बजे नै सकिने र राति अबेरसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको मतदानमा सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

ताजा खबर