कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र कोइरालाबीच प्रतिस्पर्धा

२०७८ मङ्सिर २८ मंगलबार ०९:१६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । 

ताजा खबर