झापामा १० मेगावाटको सौर्य ऊर्जा परियोजनाको शिलान्यास

२०७८ मङ्सिर २७ सोमबार २३:५६:०० मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा सोमबार मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ ।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नेम्वाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना पूरा भएपछि अब मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताए । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा तीन वर्षअघि यो सौर्य ऊर्जा परियोजना सुरु भएको थियो ।

८० करोडको कूल लागत रहने यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैंकले गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका सांसद साँवाले बताए । नेपाल सरकारबाट विद्युत् उत्पादन अनुमति र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री सम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीले सोलार प्यानल राख्नका लागि शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा २१ बिगाहा सात कठ्ठा जग्गा खरिद गरिसकेको छ ।

सो जग्गामध्ये १८ बिगाहा क्षेत्रफलमा सोलार प्यानल राखिने र अरु स्थानमा पर्यटकीय एवं कृषि परियोजना सञ्चालन गरिने कम्पनीका सञ्चालक सुभाष भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी एक वर्षभित्र विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड)मा जोडिसक्ने लक्ष्य रहेको छ । कम्पनीले नेपाल सरकारलाई विद्युत् बिक्री गर्ने भएको हुँदा प्राधिकरणसँग पीपीए सम्झौता गरेको हो ।

नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पु¥याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । पूर्व–पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजना स्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । जहाँ कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

ताजा खबर