संकटाद्वारा पुलिस पराजित, जावलाखेल र ब्रिगेड ब्वाईज गोलरहित बराबरीमा

२०७८ मङ्सिर २७ सोमबार २३:३७:०० मा प्रकाशित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिसलाई १–० गोलले पराजित गरेको छ । दशरथ रङ्गशाला भएको खेलमा संकटाका लागि निरज बस्नेतले १८औं मिनेटमा निर्णायक गोल गरे। लक्ष्मण रुमालको कर्नरमा निरजले डाइभिङ हेडबाट गोल गरेका हुन् ।

लगातारको आक्रमणपछि संकटाले अग्रता लिएको हो । अहिले चलिरहेको लिगको समग्रमा यो ५०औं गोल हो । निरजको भने यो व्यक्तिगत तेस्रो गोल हो । यस जितपछि संकटाको आठ अंक भएको छ । पुलिस भने ५ अंकमै सीमित रह्यो । पुलिसको यो पहिलो हार हो । यससँगै पुलिसको अपराजित यात्रा टुंगिएको छ ।

त्यस्तै आजै भएको अर्को खेलमा जावलाखेलले ब्रिगेड ब्वाईज क्लब(बीबीसी)सँग गोलरहित बराबरी खेलेको छ । यससँगै लिगमा पहिलो अंक बटुलेको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेल बीबीसीविरुद्ध हाबी रहे पनि गोल भने निकाल्न सकेन र एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । यो नतिजापछि जावलाखेलको चार खेलबाट एक अंक भएको छ ।

जावलाखेल अझै रेलिगेसन क्षेत्रमा छ । एक अंक प्राप्त भएपछि जावलाखेल १३ औं स्थानमा उक्लिएको छ । बीबीसी भने समान चार खेलबाट पाँच अंकसहित सातौं स्थानमा उक्लेको छ । यसअघि सोमबारको पहिलो खेलमा संकटाले पुलिसलाई १–० ले हराएको थियो । यी खेलसँगै लिगको चौथो चरणका खेल समाप्त भएका छन् । लिगमा पाँचौं चरणका खेल पुस २ गतेबाट हुनेछन् ।

 

ताजा खबर