संसद संचालनका लागि सर्वदलीय बैठक राख्छुः सभामुख

२०७८ मङ्सिर २७ सोमबार १३:३९:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन् ।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए ।

उनले भने,‘मुख्यतः यो सदन भनेपछि पार्टीहरुकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ । अरु त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो । मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने, आवश्यकता अनुसार फेरी सर्वदलीय बैठकहरु गर्ने, मेरो भुमिका त त्यही होला जस्तो लाग्छ ।’

सभामुखले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । उनले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।

ताजा खबर