पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

२०७८ मङ्सिर २७ सोमबार १३:०२:०० मा प्रकाशित

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतवार दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए ।

प्रहरीले हत्यामा संलग्न ९ मध्ये पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरी डेकेन्द्र थापा मुद्दाको अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, मुक्ति भनिने बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछाने फरार थिए । कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो ।

कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेल तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।

तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि शव लुकाइएको थियो ।

 

ताजा खबर