रहेनन् वरिष्ठ संगीतकार चन्द्रराज शर्मा

२०७४ पौष ६ बिहीबार ११:१३:०० मा प्रकाशित

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय वरिष्ठ संगीतकार चन्द्रराज शर्माको आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्मा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मेका थिए । उनलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए। २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गरेका उनि नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गरेका थिए । उनले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिएका थिए । यस्तै गीतिनाटक मुनामदन, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गरेका थिए । शर्माले संगित गरेका मेरो देशको माया, चपला अबला एक सूरमा, हामी नदीका दुई किनार लगायत कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।  गीति नाटक, ब्यालेड र ओपेरामा समेत काम गरेका उनलाई वि सं २०६७ सालमा रेडियो कान्तिपुरले १२ औँ म्युजिक अनरमा लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । उनकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उनकाे आजै आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 

ताजा खबर