विभागद्वारा बजार अनुगमन गरी तीन महिनामा ८५२ वस्तुको नमूना सङ्कलन

२०७८ मङ्सिर २७ सोमबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा (तीन महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म) ८५२ नमूना सङ्कलन गरेको छ । पहिलो तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार उक्त बस्तुको नमूना सङ्कलन गरिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार तीन महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ । विभागले दायर गरेका मुद्दामध्येमा दूध तथा दुग्ध पदार्थका नौ, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयासस, तेल र दानाका एक/एक रहेका छन् ।

उक्त मुद्दामध्येमा ११ दूषितका, नौ मुद्दा न्यून गुणस्तरका र छ मुद्दा लेवललगायतका विवरण नमिलेका मुद्दा दर्ता भएका जनाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ । विभागले तीन महिनाको अवधिमा देशभरका आठ कार्यालय र २२ डिभिजन कार्यालय गरी ४३ कार्यालयबाट नियमित रुपमा बजार अनुगमन गर्दै आएको जनाएको छ ।

४३ कार्यालयले तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८५२ नमूना सङ्कलन गरेका थिए । उक्त सङ्कलित नमूनामध्ये खाद्यान्न/दलहनजन्यका १३१, तेल तथा घीउजन्यका ९४, फल तथा सागपातजन्य पदार्थ ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफिका २८, दूध तथा दुग्धपदार्थका २१, प्रशोधित पिउने पानीका ४० र कन्फेक्सनरिका १६ नमूना रहेका थिए ।

परीक्षण गरिएका नमूनामध्ये ३६ नमूना मात्रै प्रतिकूल रहेको प्रवक्ता महर्जनले जानकारी दिए । उनका अनुसार प्रतिकूल रहेकामा खाद्यान्नका आठ नमूना, प्रशोधित पिउने पानीका सात, दूध तथा दुग्ध पदार्थका चार, दानापदार्थका चार नमूनालगायतका अन्य खाद्य पदार्थ रहेका छन् ।

ताजा खबर