कांग्रेस महाधिवेशनः तीन मतदान केन्द्र र ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था

२०७८ मङ्सिर २६ आइतबार १७:२३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ ।

शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ । यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ ।

दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेलको उम्मेदवारी कायमै छ ।

एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ ।

खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् । मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ ।

थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनामात्र प्रतिस्पर्धामा कायम छन् । पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । शनिबार उम्मेदवारले मनोनय दर्ता गराउनुभएको हो । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम तय भएको छ ।

कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र ११ सय बुथ
नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ ।

मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

 

 

 

 

 

ताजा खबर