यो सरकार टिकाउन पनि मैले सभापतिमा जित्नैपर्छः प्रधानमन्त्री

२०७८ मङ्सिर २६ आइतबार १३:१९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा मात्र यो सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् । आइतबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू सभापति निर्वाचित भएमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन् ।

उनले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठ्ने भएकोले पनि जित्नैपर्ने दबाव रहेको बताए ।

उनले पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्र तहसम्मको सरकार बनाउने बताए । उनले भने,‘ ‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ । यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईहरुलाई थाहा नै छ । अत्याधिक बहुमतले मलाई जिताउनु भयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु । पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ?'

प्रधानमन्त्रीले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र विनाको देश कल्पना गर्न नसकिने बताए ।

ताजा खबर