बेजोसको कम्पनीले पठायो अमेरिकाका प्रथम अन्तरिक्षयात्रीकी छोरीलाई अन्तरिक्षमा

२०७८ मङ्सिर २६ आइतबार ११:५३:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना पिताको पदचाप पछ्याउँदै ६० वर्षपछि अन्तरिक्षमा पुगेकी छन् । जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानमा सवार छ जनामध्ये शेपर्डकी छोरी लौरा शेपर्ड चर्च्ली पनि छिन्। उनी अहिले ७४ वर्षकी भइन् ।

ती यात्रुले सब–अर्बिटल अर्थात् उपकक्षीय उडानमा केहीबेर शून्य गुरुत्व पनि अनुभूति गर्न पाए । अन्तरिक्ष पर्यटनमा आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा रहेको ब्लू ओरिजिनले सन् २०२१ मा गरेको यो त्यस किसिमको तेस्रो उडान हो । सन् १९६१ को मे ५ मा फ्लोरिडाबाट उडेको मर्क्यूरी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए। उनको १९९८ मा मृत्यु भयो ।

अमेरिकी फुटबलका भूतपूर्व खेलाडी तथा ’गूड मोर्निङ अमेरिका’ कार्यक्रमका प्रस्तोता माइकल स्ट्रेह्यान पनि शनिबारको उडानमा थिए। त्यसबाहेक चार अन्य यात्रुले पैसा तिरेर सो यात्रा गरेका थिए । एलन शेपर्डको सम्मानमा नामकरण गरिएको न्यू शेपर्ड रकेटमा भएका सबै छवटै सीट भरिनेगरी ब्लू ओरिजिनले पहिलो पटक अन्तरिक्षयात्री पठाएको हो ।

तीव्र गतिको वायुका कारण उक्त अन्तरिक्षयान दुई दिन ढिलो उडेको थियो । ब्लू ओरिजिनले त्यसका लागि टेक्ससको भ्यान होर्नस्थित आफ्नो प्रक्षेपण केन्द्र प्रयोग गरेको थियो । उक्त उडानका लागि ब्लू ओरिजिनले पहिला प्रक्षेपण गरेका रकेटले प्रयोग गरेकै मार्ग प्रयोग भएको थियो। टेक्ससस्थित मरुभूमिमा अवतरण गर्दा अन्तरिक्ष पुगेर फर्केका यात्रुलाई बेजोसले स्वागत गरेका थिए ।

झन्डै १० मिनेटको उडानमा यात्रुहरू आकाशमा १०० किलोमिटर माथि पुगेका थिए। यो यात्रा एलन शेपर्डको पहिलो उडानभन्दा पाँच मिनेट र १८६.७ किलोमिटर कम थियो । यात्रामा जाँदा लौराले आफ्ना बुवाले प्रयोग गरेको क्याप्स्यूलको एउटा सानो टुक्रा र पछि सन् १९७१ मा अपोलो १४ मा चढेर चन्द्रमामा पुगेको बेलाका केही चिनो लगेकी थिइन् ।

गत महिना ब्रिटिश राजकुमार विलियमले ब्लू ओरिजिनजस्ता अन्तरिक्ष पर्यटनको क्षेत्रमा कार्यरत कम्पनीका गतिविधिहरूको आलोचना गर्दै तिनले नयाँ पुस्तामा जलवायु परिवर्तनसम्बन्धी चिन्ता थपिदिने चेतावनी दिएका थिए।

ताजा खबर