'तपाइँको मौन समर्थनमा किसुनजी बारम्बार पीडित बनाइनु भएको हो'

२०७८ मङ्सिर २६ आइतबार १०:१५:०० मा प्रकाशित

केशवप्रसाद भट्टराई ।
१. हिजो गणेशमानजीले पार्टी परित्याग गर्दा रामचन्द्रजी मौन रहनु भयो । आफू समेत भएर स्थापना भएको नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशनलाई सम्बोधन गरेर लेख्नुभएको एउटा चिठी महाधिवेशनमा पढेर सुनाउन समेत रामचन्द्र दाइ र सुशील दाइले रोक्नु भएको थियो । अझ रामचन्द्र दाइले सुशील कोइरालालाई त्यसको लागि दवाव नै दिनुभयो । आफ्ना संस्थापक नेताले आफ्नो जीवनको अन्तिम कालखण्डमा आफ्नो पार्टीको महाधिवेशनलाई सम्वोधन गरेर लेखिएको पत्र पढेर सुनाउन दुई –तीन मिनेटको समय लाग्थ्यो होला !
त्यो समय किसुनजीलाई दिइएन । तपाइँको मौन समर्थनमा किसुनजी बारम्बार पीडित बनाइनु भएको हो । गिरिजा बाबु र स्वयम् देउवाजी पनि बिगतमा तपाइँबाट धोखा खानेमा हुनुहुन्थ्यो ।

२. गिरिजाबाबु मृत्युशैयामा हुनुहुँदा काङ्ग्रेस सभापतिका अधिकारहरूमा व्यापक कटौती गरिए – र त्यो कटौती गर्ने विधान संशोधनको नेतृत्व सुशील कोइराला र कृष्ण सिटौलाले गर्नुभएको थियो । नरहरि आचार्यले त्यसमा सहयोग गर्नुभएको थियो । सभापतिलाई यति विघ्न कमजोर बनाएपछि पार्टीले कसरी राम्ररी काम गर्न र अझ सङ्कटको समयमा पार्टी र मुलुकको नेतृत्व गर्न सभापतिले कसरी सक्लान्–यो गलत हो भन्ने मेरो प्रतिवादलाई एक नेताले भन्नुभयो – ’गिरिजाबाबुबाट यो अधिकार खोस्नैपर्ने भयो नत्र के हो के ? पछि व्यवस्थापन गर्नु पर्दछ ।
पछि नवलपरासीको त्रिवेणीमा सम्पन महासमिति बैठकमा तत्कालीन सभापति सुशील कोइरालाले सभापतिको हात खुट्टा बाँधेर कसरी काम हुन्छ भनेर अधिकार बढाउने विषय उठाउनु भयो तर शेरबहादुर देउवाले त्यो हुन दिनु भएन । आज शेरबहादुर देउवाले त्यो अनुभव गर्नुभएको होला !

३. मातृकाप्रसाद, सुवर्ण समशेर, सूर्यप्रसाद उपाध्याय देखि वीपी , गणेशमान , किसुनजी सवैमाथि काङ्ग्रेसले अन्याय गरेको छ । ती त मूख्य नेताका हकमा हुन् । आम नेता र कार्यकर्ताको हालत के होला ? तपाइँ संलग्न भएर तपाइँकै सक्रियतामा काङ्ग्रेसका सयौँ नेता–कार्यकर्तालाई अन्यायमा पार्नुभयो होला । जे होस् ! शेरबहादुरजीले राख्नुभएको राष्ट्रपतिको प्रस्ताव उत्तम हो भन्ने लाग्दछ !
र शेरबहादुरजीको प्रस्ताव प्रचण्डले गिरिजाबाबु समक्ष राखेको प्रस्ताव जस्तो होइन होला ! देउवाजी प्रचण्डभन्दा इमान र बोलीका पक्का र भरपर्दा नेता हुन् जस्तो लाग्दछ । भर त के भयो र उनले दिएका धेरै वचनपनि भङ्ग नभएका त होइनन् । तर कप्टी नहोलान् !

लेखकको फेसबुकबाट ।

ताजा खबर