राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

२०७८ मङ्सिर २६ आइतबार ०९:०२:०० मा प्रकाशित

धनुषा । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५ रुपैयाँ, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जानकारी दिए ।

ताजा खबर