ए डिभिजन लिगमा मनाङ र आर्मीलाई सफलता

२०७८ मङ्सिर २५ शनिबार २२:३३:०० मा प्रकाशित

काठमाडौं । मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पनि समान २–० गोल अन्तरले पराजित गरेको हो ।

जितबाट मनाङले शीर्ष स्थानमा आतिथ्यता गर्दा विभागीय टोलीले जारी प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । पहिलो खेलमा नाइजेरियन प्रशिक्षक तोपे फुजाको प्रशिक्षणमा पहिलो पटक मैदान उत्रिएको मनाङको जितका लागि आफिज ओलावाले पहिलो हाफ र दिनेश राजवंशीले दोस्रो हाफमा एक/एक गोल गरे ।

फुजा मंगलबार मात्र नेपाल आइपुगेका थिए । सुरुवातबाट दबाब दिएर खेल देखाएको मनाङको रणनीति ४१औं मिनेटमा पूरा भएको थियो । ४१ औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । कप्तान अन्जनको क्रसमा अनमार्क रहेका ओलावाले हेडमार्फत सहज गोल गरेका थिए । दोस्रो हाफमा पनि मनाङले आक्रामक खेललाई निरन्तरता दियो ।

कप्तान अन्जनले ५४ औं मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाए । वान भर्सेस वानको अवस्थामा सिक्स यार्ड बक्सभित्रबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलको सोझै हातमा परेको थियो । ७२ औं मिनेटमा ओलावाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलले उत्कृष्ट बचाउ गर्दै बाहिर पठाउँदा ७३ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । पुजन उपरकोटीको फ्रिकिकमा दिनेश हेडमार्फत अग्रता दोब्बर पारेका थिए ।

८६ औं मिनेटमा फ्रेन्ड्सका नाथानिल जुड गार्सियाले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गर्दा फ्रेन्ड्सले अग्रता छोट्याउन असफल रह्यो । बाँकी समयमा थप गोल हुन सकेन र मनाङले सहज जित आत्मसात गर्न सक्यो । यससँगै मनाङ चौथो खेलमा पनि अपराजित रहने टोली भएको छ । मनाङले ४ खेलमा १० अंक जोड्दा जारी लिगमा तेस्रो जित निकाल्न सफल भएको छ ।

फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर दशौँ स्थानमा रहेको छ । चार खेलबाट फ्रेन्ड्सको दोस्रो हार हो । खेलमा मनाङका ओलावाले म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ हात पार्दा इमर्जिङ प्लेयरको अवार्ड फ्रेन्ड्सका अनिल महर्जनले हात पारे ।

खेलको सुरुवातबाट नै दबाब दिएर खेलेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा निकालेको २–० को अग्रता पर्याप्त बन्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा पहिलो हाफमा अग्रतता निकाल्दा १९ औं मिनेटमा जर्ज प्रिन्सले टोलीका लागि पहिलो गोल गरे ।

मिडफिल्डर टंक बस्नेतको क्रसमा कार्कीले हेडमार्फत उत्कृष्ट गोल गर्दा जगजितले ३६ औं मिनेटमा टोलीका लागि दोस्रो गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । गौतम श्रेष्ठले उपलब्ध गराएको पासलाई जगजितले सहजै गोल गरेका थिए । जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोडेको छ । र, आर्मी शीर्ष दुईमा उक्लिएको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

ताजा खबर