अमेरिकाको केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

२०७८ मङ्सिर २५ शनिबार २०:३९:०० मा प्रकाशित

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको छ । गभर्नर एण्डी बेशरले भने, ‘केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् ।

थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।’ मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।.सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

“मेरो विचारमा करिब ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० देखि १०० को बीचमा रहेका अपुष्ट खबरहरू प्राप्त भएका,” बेशरले भने । आँधीले पुर्याएको क्षतिलाई केन्टकीको इतिहासमा ‘गम्भीर तहसनहसको घटना’ भएको उनले बताए । आँधीका कारण मेफील्ड शहरमा एउटा मैनबत्ती कारखानाको छाना भत्किएको र ठूलो सङ्ख्यामा क्षति भएको गभर्नर बेशरले बताए ।

मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा–टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् ।
 

ताजा खबर