निर्वाचनमा ध्यान केन्द्रित गर्न पार्टी पंक्तिलाई ओलीको आह्वान

२०७८ मङ्सिर २५ शनिबार १५:४३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । शनिबारदेखि भक्तपुरको गठ्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी गरे । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिए । अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न पनि निर्देशन दिए ।

उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई आग्रह गरे ।

उनले भने, ‘अबको हाम्रो काम भनेको अत्यन्तै गतिशीलताका साथ, तीव्र गतिका साथ कामहरु हुनेछ । र हामीलाई यस बैठकले कार्य विभाजन पनि गर्नेछ । त्यसोभएपछि हामीले आ–आफूले पाएका कामहरु कसरी अत्याधिक सफलताका साथ गर्न सकिन्छ ? त्यस हिसावले हामी आफ्नो कार्य क्षेत्रमा जानेछौं । त्यसर्थ म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–यी अभिभाराहरु बोक्नका लागि तम्तयार भएर, ती कुराहरुको संगठनात्मक व्यवस्थापन, संगठनात्मक परिचालनको ढाँचा, ती कुराहरु तय गर्ने कुरा नै यस बैठकको अभिभारा हो ।’

उनले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।

ताजा खबर