युक्रेनमाथि हमला गरे रुसले त्यसको परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी

२०७८ मङ्सिर २५ शनिबार १२:१८:०० मा प्रकाशित

ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम“ भोग्नुपर्ने चेतावनी दिएकी छन् । लिभरपूलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी हुन् ।

ट्रसले बेलायत र उसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कारबाहीलाई रोक्नुपर्ने मा जोड दिएकी छन् । युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ । तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ ।

अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्याउँदै ब्रिटिश विदेशमन्त्रीले जी–सेभेन युक्रेनका सम्बन्धमा कडा र बलियो रूपमा उभिने बताइन् । उनले सप्ताहान्तको बैठकमा एकै खाले मत राख्ने साझेदारहरूले एकै स्वरमा त्यसको विरोध गर्न गइरहेको पनि बताएकी छन् । रुस र युरोपेली सङ्घ (इयू) दुवैतर्फ सीमा जोडिएको युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ ।

युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो। रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ र उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ ।

जी–सेभेन बैठकअघि ब्रिटिश विदेशमन्त्रीले युक्रेनी विदेशमन्त्री दिमित्रो कूलेबासँग लण्डनमा कुराकानी गरेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मङ्गलवार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गरेका थिए

ताजा खबर