दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा संचालन

२०७८ मङ्सिर २५ शनिबार १०:११:०० मा प्रकाशित

इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ । हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए ।

बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राइले भने, “अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप गरिएको छ ।”प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको ५० शुल्क लिइने छ । डुङगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ । 
 

ताजा खबर