एक्लै हिड्ने अहंकार नपाल्न प्रचण्डको आग्रह

२०७८ मङ्सिर २४ शुक्रबार १७:२९:०० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहबीच हातेमालो आवश्यक रहेको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने खोज्नेहरुको यात्रा ओरालो लागेकाले दलहरुबीच हातेमालो आवश्यक रहेको बताएका हुन् ।

लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरुका बीचमा गहिरो एकता हुन जरुरी रहेको बताए ।

उनले नेपालका नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताए । आफू अघि बोलेका भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएकोमा जवाफ दिँदै प्रचण्डले भने, ‘यी प्रधानमन्त्री एकले अर्कालाई बनाएका पूर्वप्रधानमन्त्री हुन् । एकले अर्कालाई हातेमालो गरेर बनाएका हौं । यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिएँ। तर उहाँ हिँडिसक्नुभयो । तर उहाँले यो कुरा सुन्नुहुनेछ ।’

उनले हालसम्म प्राप्त गरेका राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरुप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिड्ने अहंकार गर्न खोज्दा एक्लै हिड्न खोज्नेको ओरालो यात्रा सुरु हुने बताए ।

उनले भने, ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बीचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरु एक्लै हिड्ने कुरा गर्नुहुन्छ । एक्लै हिड्नुपर्छ हामीहरु भन्नुहुन्छ । होइन, हामी एक्लै हिड्ने कुरा अहंकार कसैले पनि नगरौँ । हामी मिलेरै हिड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नै पर्ने हुन्छ । र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । एक्लै हिड्ने अहंकार गर्न खोज्दा जसले अहंकार गर्यो त्यसको ओरालो यात्रा सुरु भयो भन्नेकुरा नेपालको इतिहासले देखाएको छ ।’

प्रचण्डले पार्टीहरु सरकारमा जाँदा जनताको अगाडि गरेका प्रतिवद्धता अनुसार व्यवहार गर्न नसकेकाले यसको सम्बन्धमा सबैले आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले पार्टीहरु सत्तामा पुगेपछि प्रतिवद्धताबाट विचलित हुने, भ्रष्टाचार रोक्न नसक्ने र विकृति र विसंगतिको शिकार हुने गरेकाले यस विषयमा सबैले खोजी गर्नुपर्ने बताए । उनले लोकतन्त्रको निम्ति संघर्ष गरेका राजनीतिक दल र दलका नेताहरुलाई बदनाम गरेर निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र गर्न लागिएको भन्दै त्यसका विरुद्ध सतर्क रहन जरुरी रहेको बताए ।

 

ताजा खबर