धनी राष्ट्रलाई खोप दान गर्ने कार्य जारी राख्न डब्ल्यूएचओको आग्रह

२०७८ मङ्सिर २४ शुक्रबार ०९:२३:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन् ।

हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य ’स्ट्रेन’को तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ । तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ । डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन् ।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरियन्ट वा अन्य 'स्ट्रेन’भन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले जानकारी दिएका छन् ।

अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२०मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

ताजा खबर