महासंघ र दराजबीच साना उद्यमीका उत्पादन बिक्री गर्ने सम्झौता

२०७८ मङ्सिर २३ बिहीबार १९:०५:०० मा प्रकाशित

काठमाडौं । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइनमार्फत बिक्रि वितरण हुने भएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराज अनलाइन सपिङमा एकीकृत गरी बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रवन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराज अनलाइन सपिङमा निःशुल्क डस्प्लेको सुविधा पाउनुका साथै त्यसका लागि आवश्यक प्रचार, दृश्य लगायतको सुविधा पाउने भएका छन् ।

हस्ताक्षर समारोहमा महासंघका अध्यक्ष गोल्छाले कोभिड १९ को कारण साना तथा मझौला उद्योगको बजार सञ्जाल टुटेको र व्यापार व्यवसायमा गिरावट आएको बताए । महासंघ र दराजबीचको सम्झौताले बजार सञ्जाललाई जोड्ने उनले बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रामिण भेगमा उत्पादित सामग्रीहरु ग्राहकले खोजिरहेको अवस्था भएपनि बजारीकरणको माध्यम नहुँदा समस्या भएको बताए । उनले महासंघ र दराजबीचको सम्झौतापश्चात रेशमी र घरेलु उद्यमद्वारा उत्पादित सामग्रीहरुको बजारीकरण हुने बताए ।

सम्झौता अनुसार २०२२ जनवरीदेखि २०२२ डिसेम्बरसम्म साना तथा मझौला उद्योगलाई कुनैपनि शुल्क नलाग्ने, ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने तथा दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्ने भएको छ । त्यस्तै महासंघले भने आफ्नो नेटवर्कमार्फत् साना तथा मझौला उद्योगको उत्पादनहरुलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने जनाइएको छ ।

 

ताजा खबर