विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि विशेष ‘टास्क फोर्स’ परिचालन

२०७८ मङ्सिर २३ बिहीबार १८:५८:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीवार संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पूँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन् । अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताए ।

मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०÷१० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गरे । उनले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताए ।

अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताए । सरकारले अहिलेसम्म ४ खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गत आर्थिक वर्षको तुलनामा ४० प्रतिशतले राजश्व उठेकाले खासै पैसाको अभाव नभएको बताए ।

चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भएपनि समस्या समाधान भइ नसकेको बताए । उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए । अर्थमन्त्री शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थ मन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको बताए ।

उनले अहिले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजश्वमा टेवा पुर्याउने बताए । उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याएको सुन दैनिक १९/२० किलो जम्मा भएको बताए । मन्त्री शर्माले सरकारले विलाशिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना बनाउने तयारीसमेत जानकारी दिए ।

ताजा खबर