सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयनः प्रधानमन्त्री

२०७८ मङ्सिर २३ बिहीबार १२:५७:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्रीले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने बताएका हुन् ।

उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

उनले भने,‘हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाको रुपमा लिने, कुनै पनि किसिमको कटूता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस्।’

प्रधानमन्त्रीले नेपालको प्रजातान्त्रिक भविष्यका लागिसमेत कांग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको बताए ।

ताजा खबर