नयाँ सार्वजिनक खरिद ऐन ल्याउने सरकारको तयारी

२०७८ मङ्सिर २२ बुधबार १७:५२:०० मा प्रकाशित

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन् । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा बुधबार नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको बताइन् ।

समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् । निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन् ।

निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले बताइन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उनले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासङ्घ आशावादी रहेकोसमेत बताए ।

बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट सुरु भएको र्याली थापाथली, माइतीघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगर पुगेको थियो । महासङ्घ प्राङ्गणमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।

ताजा खबर