एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

२०७८ मङ्सिर २२ बुधबार १३:१४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन् ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ । एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ ।

यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर पोखरेललगायतका नेताहरुले गृहकार्य गरिरहेका जनाइएको छ । केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ ।

ताजा खबर