कोइरालटारमा सामूहिक आलुखेती

२०७८ मङ्सिर २२ बुधबार १०:४६:०० मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् ।

नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ ।

निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समूहमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । महिला आत्मनिर्भरताको सुनिश्चितताका लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको उनले बताए ।

यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलुखेती गर्ने किसानले यस वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण आलुखेती गरेका हुन् । परियोजनाले किसानलाई आलुखेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।

ताजा खबर