रुसले युक्रेनसँगको सीमा नजिकै सैन्य उपस्थिति बढाएकोमा अमेरिकाको आपत्ति

२०७८ मङ्सिर २२ बुधबार १०:३३:०० मा प्रकाशित

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको कडा प्रतिक्रिया जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडियो वार्तापछि वासिङ्टनले यस्तो बताएको हो ।

भिडियो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ ।

पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन् ।

उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए । रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडियो लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको थियो ।

छलफलको सुरुवाती समय देखिने भिडियो फुटेजमा दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ । त्यसपछिको गोप्य छलफल झन्डै दुई घण्टासम्म चलेको बताइएको छ । पुटिन सोचीस्थित आफ्नो निवासबाट छलफलमा सहभागी भएको टासले जनाएको छ ।

ताजा खबर