साफ यु–१९ महिला टोलीको विदाई

२०७८ मङ्सिर २० सोमबार १९:५०:०० मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सोमबार कार्यक्रमको आयोजनामा गरी बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरिएको हो ।

प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ ।

टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन् । डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।

पाँच टोलीले राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल डिसेम्बर २२ तारिखमा हुनेछ । 

ताजा खबर