नेपालमा दुई व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रन पुष्टि

२०७८ मङ्सिर २० सोमबार १३:४०:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन भेरियन्ट संक्रमण दुई जनामा भेटिएको पुष्टि गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएका हुन् ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

यो भेरियन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे वैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।

ताजा खबर