अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्मः प्रधानमन्त्री

२०७८ मङ्सिर २० सोमबार १३:२७:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम रहेकाले आफूहरु धेरै मान्छे ल्याएर शक्ति प्रदर्शन गर्ने पक्षमा नरहेको बताए । उनले भने,‘हामीलाई शक्ति प्रदर्शन गरेर अरु पार्टीसँग प्रतिस्पर्धा गर्नु छैन । हामी पनि झापादेखि दार्चुलासम्मका मान्छे ल्याउन सक्छौं । तर महामारी फैलन सक्ने भएकाले हामी त्यो पक्षमा छैनौं ।’

प्रधानमन्त्रीले आफू फेरि एक पटक पार्टी सभापतिमा उम्मेदवारी दिन लागेको बताए । उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएकोसमेत बताए ।

उनले भने,‘ यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको छु । फेरि सभापति भए  अझै राम्रो गर्न सक्छु। त्यसैले नेता कार्यकर्ता र संचारजगतलाई सहयोगका लागि आग्रह गर्दछु।’

फरक प्रसंगमा प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताए । उनले त्यसपछि गठबन्धन रहने÷नरहने भन्ने विषयमा छलफल नभएकोसमेत बताए ।

ताजा खबर