भारतमा एकैदिन ओमिक्रोन सङ्क्रमितको संख्या पाँच गुनाले बृृद्धि

२०७८ मङ्सिर २० सोमबार १२:०१:०० मा प्रकाशित

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण एकैदिन पाँच गुनाले बढेको छ ।  समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन् । यसअघि चार जनामा ओमिक्रोन पुष्टि भएको थियो ।

योसँगै भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरियन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ । डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि सङ्क्रामक भएको बताएकी छन् ।

नयाँ भेरियन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा परीक्षण तथा स्क्रीनिङ तीव्र पारिरहेका छन् । महाराष्ट्रको पुनेमा ओमिक्रोनका थप ७ जनामा आइतबार पुष्टि भएको थियो।

तिनमा नाइजिरियाबाट भारत फर्किएकी एक महिला र उनक आफन्तहरू तथा फिनल्यान्डबाट पुने आइपुगेका एक व्यक्ति छन् । राजस्थानको स्वास्थ्य विभागका अनुसार त्यहाँ दक्षिण अफ्रिकाबाट फर्किएको एक परिवार तथा तिनका सम्पर्कमा आएका व्यक्तिहरूको नमूनाको जीन सिक्वेन्सीङ गर्दा ९ जनामा ओमिक्रोन पुष्टि भएको छ । भारतको साथसाथै विश्वभरिका कैयन् देशहरूमा पनि ओमिक्रोन सङ्क्रमणमा तीव्र वृद्धि पाइएको छ । अमेरिकाको १५ राज्यमा ओमिक्रोन सङ्क्रमण फेला परिसकेका छन् ।  

ब्रिटेनले पनि ओमिक्रोनको चिन्ताका कारण नाइजिरियालाई उसको ’यात्रासम्बन्धी रातो सूची’मा राखिदिएको छ । त्यस्तो सूचीमा भएका मुलुकबाट आउने यात्रुहरूले कोरोनाभाइरस परीक्षण एवं क्वारन्टीनका कडा निषेधहरू पालना गर्नुपर्छ । 

ताजा खबर