कांग्रेस प्रदेश एकको सभापतिमा थापा र लुम्बिनीमा पुन निर्वाचित

२०७८ मङ्सिर २० सोमबार ०८:२६:०० मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसको प्रदेश एकको अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ८४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।
लुम्बिनीमा पुन विजयी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गरेका हुन् ।

सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए । निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् । पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन् । संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे (कपिलवस्तु) पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए ।

 

ताजा खबर