खुल्ला मिनी म्याराथनको उपाधि बुढालाई

२०७८ मङ्सिर १८ शनिबार २२:४६:०० मा प्रकाशित

लमजुङ । लमजुङमा भएको प्रथम खुल्ला मिनी म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा भएको प्रतियोगिताको उपाधि विजेता भारतीय सेनामा कार्यरत बुढाले मिनी म्याराथन दौड ४४ मिनेट ११ दशमलव २४ सेकेन्डमा पूरा गरे ।

उनले प्रतियोगितामा सहभागी १२० जनालाई उछिन्दै उपाधिसँगै ४४ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापामगर ४४ मिनेट ११ दशमलव ९६ सेकेन्डमा सो दूरी पार गर्दै दोस्रो भए ।

उनले २२ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुन सफल त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले निर्धारित दूरी ४५ मिनेट ४५ दशमलव ६२ सेकेन्ड, सान्त्वना पुरस्कार प्राप्त गरेका त्रिभुवन आर्मी क्लबकै रामजी बस्नेतले ४६ मिनेट ४५ दशमलव ४० सेकेन्ड र नवराज साउतले ४७ मिनेट ११ सेकेन्डमा उक्त दूरी पूरा गरे । श्रेष्ठले ११ हजार तथा बस्नेत र साउतले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीलाई संविधानसभा सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र, आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङलगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

ताजा खबर