प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैनः प्रचण्ड

२०७८ मङ्सिर १८ शनिबार १७:४०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमति विना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको बताएका हुन् ।

उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था पनि नरहेको बताए । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतिमा मात्रै हुने उनले बताए ।

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पत्रकार तथा नेता, कार्यकर्तालाई अपील गरे । उनले भने,‘एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जबरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा,हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु ।’

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यसविरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरे । उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेको बताए ।

 

ताजा खबर