चितवनलाई सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रचण्डको सपना

२०७८ मङ्सिर १८ शनिबार ११:१७:०० मा प्रकाशित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन् । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।

उनले भने, “नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।” यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक विकासका निम्ति मोडेल रहेको बताए । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उनको भनाइ थियो ।

सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो । उनले भने, “भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।” जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै उनले भने , “शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।” यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ ।

देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उनले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताइन् । जसका लागि २९ करोड आवश्यक हुने उनको भनाइ थियो । हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा छ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ । दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य सङ्घसँग मिलेर ९७ लाखको पदमार्ग निर्माण गरी सकिएको छ ।

हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उनले जानकारी दिइन् । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उनले बताइन् ।

पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने दाहालले जानकारी दिइन् । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बहुवर्षीय आयोजनाको रुपमा यसको विकास गरिने बताए ।

ताजा खबर