साढे पाँच अर्ब बिगो माग दाबी गर्दै तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर

२०७८ मङ्सिर १७ शुक्रबार २०:१०:०० मा प्रकाशित

काठमाडौँ । प्रहरीले ठगी गरेको अभियोगमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तामाङसहित ४२ जनाविरुद्ध पाँच अर्ब ६७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए । प्रहरीले तामाङलाई गत असोज १८ गते प्रक्राउ गरेको थियो । उनीसहित १२ जना प्रक्राउ परेका छन् ।

सिभिल सहकारीका बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम र त्यसको ब्याज माग गर्दा नपाएपछि प्रहरीसमक्ष उजुरी दिएका थिए । सीआईबीसमक्ष हालसम्म २०१ वटा उजुरी परेका थिए ।

अभियोगपत्रमा ठगी अपराधतर्फ तामाङसहितका अभियुक्तलाई अधिकतम सात वर्ष कैद, ७० हजार जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी गरिएको छ । संगठित अपराध पनि ठहर भएमा उनीहरूमाथि थप ५० प्रतिशत कैद तथा जरिवाना हुनेछ ।

ताजा खबर