सौतेनी छोरालाई विष खुवाएर हत्या गर्ने महिला भारतको हरियाणाबाट पक्राउ

२०७८ मङ्सिर १७ शुक्रबार १७:३४:०० मा प्रकाशित

कैलाली । सौताको छोरालाई बिष खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदहकी एक महिला पक्राउ परेकी छन् । छेडेदहकी गाउँपालिका–२ घर भई कैलालीको धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझीदिन खबर गरेकोमा उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले हेर्दा मागीका सौताको छोरा १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भइरहेकोमा उनी भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई उनलाई कोठामा बस्दै गर्नु भनी भारततर्फ गएको खुल्न आएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर