एक करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

२०७८ मङ्सिर १७ शुक्रबार १५:३८:०० मा प्रकाशित

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए ।प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।

ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ । उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।

यसैबीच रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र काठमाडौँ बुढानीलकण्ठ–५ बस्ने कास्कीको लेखनाथका ४० वर्षीय गङ्गाबहादुर पुन रहेका छन् ।

रक्तचन्दनको तेल प्रतिलिटर पाँच लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएकोे छ ।

ताजा खबर