नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

२०७८ मङ्सिर १७ शुक्रबार १५:२३:०० मा प्रकाशित

काठमाडौँ । नेपाल र कतारका अधिकारीहरु दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमत भएका छन् । काठमाडौंमा शुक्रबार भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो ।

उनीहरुबीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको छ । यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ । त्यस्तै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो । घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले सरोकारवलाहरुसँग छलफल गरी निर्णयमा पुग्ने बताएका थिए ।

मन्त्री श्रेष्ठले श्रमिकको सुरक्षा र हितलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने बताएका छन् । त्यस्तै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनःस्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

 

ताजा खबर