हामीले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न सक्दैनः अध्यक्ष ओली

२०७८ मङ्सिर १७ शुक्रबार १४:५९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने बताएका छन् । शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले संसद बैठक चल्न नदिने बताएका हुन् । उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने बताए ।

उनले गैरसांसदलाई राखेको बैठकलाई एमालेले चल्न दिन नसक्ने बताए । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरु, निष्कासित व्यक्तिहरु संसद भित्र राखेर संसद कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताए । ओलीले वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताए उनले सत्तारुढ पाँच दलीय गठबन्धनले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।

उनले भने,‘देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ र लोकतन्त्रहरुको आधार, तिनीहरुलाई भत्काउने काम गरिएको छ ।’

ताजा खबर