तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर

२०७८ मङ्सिर १७ शुक्रबार १२:३८:०० मा प्रकाशित

इजरायलको तेल अभिभ विश्वकै सबभन्दा महँगो सहर बन्न पुगेको छ । बढ्दो मुद्रास्फीति दर अनि आपूर्ति प्रणालीमा आएका समस्याका कारण संसारभरि सहरी क्षेत्रमा बसाइको खर्च झन्झन् बढ्दै गएको छ ।

त्यस्तै आन्तरिक युद्धले क्षतविक्षत सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहरका रूपमा सूचीकृत भएको छ। यी दुई सहर केवल २०० किलोमिटरको दूरीमा छन् । इकोनमिस्ट इन्टेलिजन्स यूनिट (ईआईयू)द्वारा प्रकाशित वार्षिक सर्वेक्षणमा पेरिस र सिङ्गापुर सबैभन्दा महँगा सहरको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।

उक्त सर्वेक्षणमा तेल अभिभ पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष उक्त सहर पाँचौँ स्थानमा थियो । संसारभरिका १७० वटा सहरमा उपलब्ध वस्तु तथा सेवाका मूल्य अमेरिकी डलरमा तुलना गरेर वल्र्डवाइड कस्ट अफ लिभिङ इन्डेक्स सूचीकृत गरिन्छ । ईआईयूका अनुसार अगस्ट र सेप्टेम्बर महिनामा सङ्कलन गरिएको तथ्याङ्कअनुसार स्थानीय मुद्रामा औसत मूल्य ३ दशमलव ५ प्रतिशत वृद्धि देखिएको छ। पछिल्लो पाँच वर्षमा यो सबैभन्दा तीव्र गतिमा बढेको मुद्रास्फीति दर हो ।

अध्ययन गरिएका सहरमा एक लिटर पेट्रोलको मूल्य औसतमा २१ प्रतिशतसम्म बढेकाले सबैभन्दा बढी मूल्य वृद्धि यातायात खर्चमा देखिएको छ । तेल अभिभमा करिब १० प्रतिशत वस्तुको स्थानीय मूल्य व्यापक रूपमा बढेको पाइएको छ। तीमध्ये सबैभन्दा व्यापक वृद्धि खुद्रा सामानमा देखिएको छ।

सर्वेक्षणले मदिरा र यातायातका लागि तेल अभिभ दोस्रो सबैभन्दा महँगो सहर, व्यक्तिगत प्रयोग र सौन्दर्य प्रसाधनका सामानका लागि पाँचौँ र मनोरञ्जनका लागि छैटौँ महँगो सहर भएको पत्ता लगाएको छ । गत वर्ष पेरिस, जुरिच र हङ्कङ ईआईयूले गरेको सर्वेक्षणको प्रथम स्थानमा थिए ।

ताजा खबर