कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

२०७८ मङ्सिर १७ शुक्रबार ०९:४९:०० मा प्रकाशित

अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् । न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ ।

अमेरिकामा बुधबार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् ।

उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ । बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ ।

विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ । अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ ।

बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दिइनेछ । प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने पनि छ ।

चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन् । तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताएका छन् । बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । स्वास्थ्य विज्ञहरूले यात्रा प्रतिबन्ध लगाउँदा आफूहरूलाई नयाँ भेरियन्टबारे अध्ययन गर्न समय मिल्ने बताएका छन्।

 

ताजा खबर