दक्षिण अफ्रिकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा वृद्धि

२०७८ मङ्सिर १६ बिहीबार ०९:०९:०० मा प्रकाशित

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ । सोमबारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोब्बरले बढेको हो । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन् । यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन।

विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमित थपिएका छन् । अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ ।

ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ । यसैबीच, नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ । नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलले गत साता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुहरूमा उक्त भेरिअन्ट पत्ता लागेको जनाएको छ ।

यो साताको सुरुमा, क्यानडा सरकारले नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरिअन्ट पत्ता लागेको जनाएको थियो । विश्व स्वास्थ्य सङ्गठनले गत साता यो नयाँ भेरियन्टलाई 'भेरियन्ट अफ कन्सर्न' का रूपमा वर्गीकरण गरेको थियो । दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट पहिलोपटक पत्ता लागेको घोषणा भएयता थुप्रै पश्चिमा देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन्।

ताजा खबर